अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका-भारत रणनीतिक साझेदारी र इन्डो-प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए ।
जनवरी २७ को कुराकानीमा ट्रम्पले आप्रवासनको बारेमा कुरा गरे भने भारतले थप अमेरिकी-निर्मित सुरक्षा उपकरणहरू किन्ने र द्विपक्षीय व्यापारिक सम्बन्धको महत्त्वमा जोड दएि ।
‘दुई नेताले सहकार्य विस्तार र गहिरो बनाउने विषयमा छलफल गर्नुभएको छ, उहाँहरूले इन्डो-प्यासिफिक, मध्यपूर्व र युरोपको सुरक्षासहित विभिन्न क्षेत्रीय मुद्दामा पनि छलफल गर्नुभएको छ,’ वार्तापछि ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपतिले भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्ने महत्त्वलाई जोड दिनुभयो ।’
नेताहरूले प्रधानमन्त्री मोदीको ह्वाइट हाउस भ्रमणको योजना र इन्डो-प्यासिफिक क्वाड साझेदारीको बारेमा पनि छलफल गरे । भारतले यस वर्ष पहिलो पटक क्वाड नेताहरूको आतिथ्यता गर्दैछ ।
विशेषगरी दुई देशको महत्त्वपूर्ण व्यापार सम्बन्ध छ । द्विपक्षीय व्यापार सन् २०२३-२४ मा एक खर्ब १८ अर्ब अमेरिकी डलर नाघेको छ र भारतले ३२ अर्ब अमेरिकी डलरको व्यापार बचत हासिल गरेको छ ।
चीनको प्रतिरोध गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार भारत अमेरिकासँग व्यापारिक सम्बन्ध बढाउन र आफ्ना नागरिकहरूलाई कुशल श्रमिक भिसा प्राप्त गर्न सहज बनाउन उत्सुक छ ।
प्रधानमन्त्री मोदी ट्रम्पलाई पुनःनिर्वाचित भएकोमा बधाई दिने पहिलो नेतामध्ये एक थिए । उनले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा पुनःनिर्वाचित भएकोमा साथै कङ्ग्रेसको चुनावमा रिपब्लिकन पार्टीको सफलताका लागि बधाई दिँदै नोभेम्बर ६ मा उनीसँग टेलिफोन कुराकानी पनि गरेका थिए ।
प्रधानमन्त्री मोदी र ट्रम्पबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ । दुई नेताबीचको यो मैत्रीपूर्ण सम्बन्धले विभिन्न वैश्विक मुद्दाहरूमा भारत र अमेरिकाको एकजुटता देखाएको छ ।
यो भ्रमण भारत फिर्ता पठाइने आप्रवासीहरू बोकेको एक अमेरिकी सैन्य विमान उडेको केही घन्टापछि आउँदैछ । यो ट्रम्प प्रशासनअन्तर्गत यस्ता उडानहरूको सबैभन्दा टाढाको गन्तव्य हो ।
रोयटर्सका अनुसार अमेरिकी उत्पादनहरूमा भारतको उच्च शुल्कलाई उद्धृत गर्दै ट्रम्पले विगतमा धम्की दिएको शुल्कबाट बच्न पनि भारत उत्सुक छ ।
FACEBOOK COMMENTS