काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।
अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको बोलाएका छन् । आज बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको हो ।
बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।
FACEBOOK COMMENTS