काठमाडाैं । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफूलाई पहिलो दलको रुपमा दर्ज गरेको छ। निर्वाचन आयोगमा प्रविष्ट भएको पछिल्लो परिणाम अनुसार एमालेले २७ लाख ३१ हजार २ सय ८२ मत समानुपातिकतर्फ प्राप्त गरेको छ।
सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो दल बनेको छ। उसले २६ लाख ३ हजार ३८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, नेकपा माओवादी केन्द्र ११ लाख ५५ हजार ४५ मतसहित तेस्रो स्थानमा छ। घण्टी चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ७ सय ४० मत प्राप्त गर्दै समानुपातिकतर्फ चौथो ठूलो दल बनेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८१ हजार १ सय ३, जनता समाजवादी पार्टी, नेपालले ४ लाख १६ हजार १ सय ८६, जनमत पार्टीले ३ लाख ८६ हजार ९६ मत प्राप्त गरेको छ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीले भने ३ लाख मत कटाउन सकेको छैन। पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीले २ लाख ९२ हजार ६ सय ३ मत प्राप्त गर्दै आठौं स्थानमा छ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलन अनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।

यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।