काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा चीनबाट प्राविधिक विशेषज्ञ टोली ल्याइएको हो।
६ सदस्यीय चिनियाँ विज्ञ टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा पुगेको छ। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय तथा सहकार्य गर्दै सुरुङभित्र फसेकाहरूको अवस्थाबारे प्राविधिक अध्ययन र उद्धारको तयारी अघि बढाउनेछ।
उद्धार अभियानअन्तर्गत संयुक्त टोलीले सुरुङभित्रको वास्तविक अवस्था, संरचनाको क्षति तथा उद्धारका लागि अपनाउन सकिने सम्भावित उपायबारे प्राविधिक रेकी तथा अनुगमन गर्नेछ।
प्रारम्भिक प्राविधिक अध्ययनबाट सुरुङभित्र प्रवेश गरी उद्धार गर्न सकिने अवस्था देखिएमा चीनको रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गर्ने तयारी गरिएको छ।

बाढीका कारण सुरुङभित्रको अवस्था जटिल बनेको र लेदो तथा भग्नावशेषका कारण उद्धार कार्य जोखिमपूर्ण रहेको बताइएको छ। यस्तो अवस्थामा उद्धारमा संलग्न जनशक्तिको सुरक्षालाई समेत उच्च प्राथमिकता दिइएको छ।
नेपाल सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञबीचको संयुक्त प्रयासबाट सुरुङभित्र फसेका श्रमिकको अवस्था पत्ता लगाई सम्भव भएसम्म सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ।
उद्धारका लागि यसअघि भारतबाट आएको विशेष प्राविधिक टोलीसमेत परिचालन भइसकेको छ।
सरकारले जटिल भूगोल र बाढीबाट क्षतिग्रस्त संरचनाका कारण चुनौतीपूर्ण बनेको उद्धार अभियानमा आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग परिचालन गरिरहेको जनाएको छ।