हेटौँडा। भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।
प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइने आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिए ।
उनले उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव घरसम्म लैजान सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरे ।
आवश्यक खर्च तथा व्यवस्थापनका लागि स्थानीय तहलाई प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धार गरिरहेका छन् । उद्धारका क्रममा घाइते तथा जोखिमपूर्ण स्थानमा फसेका व्यक्तिलाई प्राथमिकता दिइएको मन्त्री पौडेलले बताए । उद्धारको प्रतीक्षामा रहेका व्यक्तिलाई स्थानीय तहको समन्वयमा खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराइने उनको भनाइ छ।
मुख्यमन्त्री किरण थापामगरले गोसाइँकुण्ड क्षेत्रमा रहेका एक हजार ५०० भन्दा बढी तीर्थयात्रीलाई सुरक्षित फर्काउन सवारीसाधनको व्यवस्था गरी सम्बन्धित निकाय परिचालन गरिएको जानकारी दिए।