काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ गतेदेखि २५ गतेसम्म हुने भएको छ । उक्त प्रदर्शनी भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुनेछ ।
नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको वर्तमान सन्दर्भमा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ ।
बजारमा विद्युतीय सामग्रीको माग र प्रयोग दिन प्रतिदिन बढिरहेको अवस्थामा उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै ऊर्जा, पूर्वाधार, स्मार्ट प्रविधि तथा दिगो विकाससँग सम्बन्धित नयाँ अवसरहरूको पहिचान तथा व्यवसायिक सम्भावनाको विस्तारमा समेत यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख छ ।
चार दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनीहरू, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कण्डक्टर, एलईडी लाइटिङ्ग, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शन गरिनेछ ।

प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनहरूको प्रत्यक्ष जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर हुनेछ । उपभोक्ताले एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू तुलना गर्न, प्राविधिक जानकारी लिन, नयाँ प्रविधिको अनुभव गर्न सक्ने व्यवस्था गरिएको छ । यसले आम उपभोक्तामा सुरक्षित विद्युतीय सामग्रीको प्रयोग बारे सचेतना अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।
