काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको अवसर पारेर ‘बिर्सिएको वर्ग संघर्ष’ नामक राजनीतिक(सैद्धान्तिक)वैचारिक कृति प्रकाशनमा ल्याए । समय समयमा राजनीतिक विषयमा कलम चलाउँदै आउनुभएका पार्टीका युवा नेता वामपन्थ, समाजवाद, साम्यवाद आदि विषयमा दखल पनि राख्नुहुन्छ ।
कृतिमा कम्युनिस्ट सरकार, सत्ता र समाजवाद, आमसञ्चार, सूचना प्रविधि, पुँजीवाद, विद्यार्थी आन्दोलन, नेपाली समाजवादी आन्दोलनका केही सैद्धान्तिक आधार, समाजवाद निर्माणमा वैज्ञानिक चेतना र संस्कृति, संस्कृति निर्माणमा बरालिएको वाम आन्दोलन, पहिलेका र अहिलेका कम्युनिस्टहरूको तुलनात्मक चरित्र र व्यवहार, नेपाली कम्युनिस्ट आन्दोलनको अर्को प्रमुख घुम्तीका रूपमा रहेको एकीकृत समाजवादीको पछिल्लो दस्तावेज जस्ता १२ अध्याय तथा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालका भूमिका छन् ।
बर्दिया, बढैयाताल– ६ निवासी अर्याल रत्नराज्य क्याम्पस, भृकुटीमण्डप, काठमाडौँका स्ववियु सभापति, युवा सङ्घ, नेपालका केन्द्रीय सदस्य, नेकपा (एमाले) तत्कालीन भेरी अञ्चल कमिटी सदस्य तथा युवा विद्यार्थी इन्चार्ज एवं केन्द्रीय युवा तथा खेलकुद विभाग सचिवका भूमिकामा पनि रहिसक्नुभएको छ ।
वामपन्थी दलका नेता तथा कार्यकर्ता नेतृत्वमा को रहने र कति समयसम्म रहने, प्रौढहरूले नै जीवन रहेसम्म पदमा रहने वा समय आएपछि नेतृत्व हस्तान्तरण गर्ने, नेतृत्व हस्तान्तरणका लागि तन्नेरी पुस्ता पनि सक्षम र सम्हाल्न सक्ने योग्यतामा पुग्नुपर्ने, जनताको बहुदलीय जनवाद वा एक्काइसौँ शताब्दीको जनवाद नौलो जनवाद वा जनतन्त्र वा समाजवादी सिद्धान्त–कार्यदिशा र कार्यक्रम कुन अपनाउने भन्ने बहस र छलफल चलिरहेका बखत युवा नेता अर्याल भने युवा –विद्यार्थी पुस्ता र वर्ग समाजवाद–साम्यवादको सिद्धान्तले पोख्त हुनुपर्ने विचार राखी प्राज्ञिक –सैद्धान्तिक बहसका लागि महाधिवेशनका मुखैमा कृति प्रकाशन गरेर महाधिवेशन प्रतिनिधि तथा नेता–कार्यकर्ताको ध्यान खिच्नतर्फ लागे ।
वास्तविक समाजवादी बनी मुलुकमा समाजवाद ल्याउन हरेक क्रान्तिकारी अझ आफूलाई कम्युनिस्ट अथवा समाजवादी भन्नेहरूले समाजवाद, पुँजीवाद, नौलो जनवाद, पुँजीवादी जनवादी क्रान्ति जस्ता शब्दावली र तिनले दिने गूढार्थबारे स्पष्ट हुनु जरुरी छ ।
अर्यालले कृतिमा ७० वर्षसम्म समाजवादको सिद्धान्तबाट सञ्चालित सोभियत सत्ता कसरी ढल्यो र चीनमा अझै सात दशकसम्म कसरी समाजवाद टिकिरहेको छ भन्ने कुरामा वामपन्थीहरूले राम्रो अध्ययन गर्नुपर्नेमा जोड दिए । विसं २०७२ को ‘नेपालको संविधान’ मा नेपाल समाजवादोन्मुख भनी उल्लेख भए पनि मुलुक अहिले समाजवाद स्थापना गर्ने चरणमा नपुगिसकेको तथा हामी अहिले समाजवादोन्मुख पनि नरहेको स्पष्ट गर्दै यस तथ्यलाई बलियो गरी आत्मसात् नगरीकन नेपाली कम्युनिस्टहरू ठिक ठाउँमा नपुग्ने ठोकुवा पनि गरे ।
कम्तीमा नेपाललाई चाहिने आवश्यक सरसामान नेपालमै उत्पादन गर्ने र नेपाली वस्तुको प्रयोगमा जोड दिने अभियानको नेतृत्व कम्युनिस्टहरूले गर्न सक्नुपर्छ । अहिलेको नेपालका कम्युनिस्ट पार्टीहरू र उनीहरूको क्षमता र चेतना यसभन्दा बढी गर्न सक्ने पनि देखिँदैन । यति मात्रै गर्न सके भने पनि समाजवादोन्मुख समाज निर्माण गर्ने अभियानमा उनीहरूको ठूलो योगदान हुन सक्छ । स्वाधीन अर्थतन्त्र निर्माण र यसका जगमा उभिएको चेतनाले निर्मित कम्युनिस्ट आन्दोलनले मात्र समाजवाद निर्माणको बाँकी कार्यभार पूरा गर्न सक्छ । लेखकले समाजवादका लागि पहिलो कामबारे कम्युनिस्ट नेतृृत्व र सरकारको नेतृत्व गरिरहेको वाम सरकारको ध्यानाकर्षण गराए ।
विद्यमान आमसञ्चार र नयाँ सूचना प्रविधिले मानिसका दिमागमा पुँजीवादीहरूले चाहेको नयाँ सूचना, नयाँ आविष्कार थोपरिदिएका अवस्थामा समाजवादीहरूले पनि आममान्छेलाई संस्थापनभन्दा फरक विचार प्रवाह गर्ने र पुरातन चेतनाबाट प्रगतिशील चेतनातर्फ अभिप्रेरित गर्ने प्रगतिशील प्रयत्न गर्नुपर्नेमा कृतिमा जोड दिइएको छ ।
भ्रमित आमजनतालाई सही ढङ्गले सुसूचित गर्न समानान्तर सूचना प्रणालीमा जोड दिँदै जसको अपेक्षा केवल समाजवादीसँग नै गर्न सकिने लेखकको विश्वास छ । ‘श्रमजीवी पत्रकारले आफ्नो वर्ग दृष्टिकोणअनुरूप यहाँ (सञ्चारगृहमा) सङ्घर्ष गर्न जरुरी हुन्छ । त्यस्तो प्रकारको सङ्घर्ष सेवा सुविधामा मात्र केन्द्रित होइन, समाचार र विचारको विषयवस्तु प्रसारणमा समेत देखिनुपर्छ’, लेखकले आम पत्रकारको ध्यानाकर्षण गराए ।
लेखकले ‘विद्यार्थी आन्दोलनः विगतको सिकाइ र आजको तयारी’ शीर्षक अध्यायमा नेपाली विद्यार्थीले ‘जयतु संस्कृतम्’ अभियानमार्फत नै राणाशासनविरुद्ध सङ्घर्ष गरेको उल्लेख गर्दै विसं २०३६, २०४६, २०६२÷६३ का आन्दोलनमा नेतृत्वदायी र सहायक भूमिका निर्वाह गरेको तथा विद्यार्थी आन्दोलनबाट नै धेरै राजनीतिक नेताहरू उदाई राष्ट्रिय राजनीतिमा पकड राखेकाले राजनीतिमा संलग्न भई समाजवादी आन्दोलनमा खासगरी वामपन्थी विद्यार्थीलाई अझ धेरै त्याग र बलिदान गर्न आग्रह गरे । ‘त्यसका लागि विद्यार्थीले विचारधारात्मक सङ्घर्षदेखि आन्दोलनको निरन्तरतासम्मको अभिभारा बोक्नुपर्ने हुन्छ’, उनको सुझाव छ ।
एकीकृत समाजवादीका युवा नेता अर्यालले हामीले विरासतमा पाएको संस्कृति र हाल विकसित हुँदै गरेका संस्कृतिका विभिन्न पक्षलाई विज्ञानका कसीमा दाँज्दै त्याग गर्नुपर्ने र विकसित गर्नुपर्ने तथ्यलाई छुट्याउँदै समाजवादी संस्कृति निर्माण गर्नुपर्ने र धर्म–अध्यात्म, यज्ञ–पुराणमा जकडिएको वाम आन्दोलनबाट मुक्त हुन आग्रह गरे । पुँजीवादी राजनीतिक व्यवस्था र उत्पादन पद्धति कायम राखेर नेपाली सुखी र मुलुक समृद्ध नहुने स्पष्ट गर्दै समाजवाद निर्माणको जोखिम उठाउन सत्ता र सरकारमा नअल्झिएर वर्गसङ्घर्षमा नै जोड दिए । ‘सत्तासङ्घर्ष होइन, वर्गसङ्घर्षमा जोड दिनुपर्छ । त्यस्तो प्रकारको वर्ग सङ्घर्ष सडक, सदन र सरकारमा देखिने गरी सञ्चालन गरिनुपर्छ । अन्यथा हामी विस्तारै बुर्जुवा राजनीतिमा पतन हुनेमा कुनै शङ्का छैन’, लेखकले स्पष्ट गरे ।
गणतन्त्रप्राप्तिपछि कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी विर्सजनवाद, टुटफुट, विभाजन र आन्दोलनको बुर्जुवाकरणलाई एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज र खासगरी समाजवादी कार्यदिशाले तोड्ने विश्वास गर्दै अर्यालले चालु महाधिवेशन (असार १६–२०) नै नेपाली कम्युनिस्ट आन्दोलनको अर्को एउटा मोड साबित हुन सक्ने विश्वास गरे ।
प्रगतिशील संसद्वाद, पार्टीमा युवा प्रतिनिधित्वको व्यवस्था, आआफ्ना क्षेत्रभित्र पर्ने राजकीय पदहरू सम्बन्धित कमिटीले नै चयन गर्न पाउने नयाँ व्यवस्था, पार्टी बाहिर रहेर विभिन्न क्षेत्रमा योगदान गरेका, कुनै विषयवस्तुमा विशेषज्ञता हासिल गरेका र समाजवादी ध्येय बोकेका व्यक्तिलाई नेतृत्व तहमा लाने तथा तिनका ज्ञान र क्षमतालाई आन्दोलनका हितमा प्रयोग गर्ने बुँदा समेट्दै क्रान्तिको मुख्य ध्येय समाजवादी क्रान्ति नै भएको उल्लेख गरेर पार्टीलाई नयाँ स्पातिलो बनाउने दृढता व्यक्त गरिएको लेखकले जनाए । एकीकृत समाजवादीको दस्तावेज सिङ्गो कम्युनिस्ट आन्दोलनको अर्को एउटा महान् मोड अर्थात् नयाँ घुम्ती साबित हुने उनको विश्वास छ ।
एकीकृत समाजवादीको दस्तावेजमा सबै समाजवादी अटाउन सक्ने लेखकको विश्वास कत्तिको पूर्ण हुन्छ, त्यो त हेर्न बाँकी नै छ । समाजवादको सैद्धान्तिक कृतिमा विद्यार्थी आन्दोलनको वर्णन अहिले बढी नै भएको महसुस हुन्छ । कृतिले वामपन्थी जगत्, युवा र विद्यार्थीको भने ध्यानाकर्षण गर्ने विश्वास गर्न सकिन्छ । कामपा–७, चाबहिल, काठमाडौँका सङ्गीता पाठक र निकिता श्रेष्ठद्वारा प्रकाशित प्रस्तुत कृतिमा सङ्गृहीत विचार पठनीय रहेको र यसले नेपाली कम्युनिस्ट आन्दोलनमा चासो राख्ने जोकोहीलाई पनि आकर्षण गर्न सक्ने विश्वास गर्न सकिन्छ । एक सय ३० पृष्ठ र रु १००। मूल्यको कृति निकै सस्तो पनि छ ।
FACEBOOK COMMENTS