काठमाडौं । चीनले भारतीय व्यवसायी तथा उद्योगसँग सम्बन्धित अधिकारीहरूलाई दिने व्यावसायिक (बिजनेस) भिसामा कडाइ गरेपछि भारतका उत्पादनमूलक उद्योगहरू प्रभावित हुन थालेका छन्।
पछिल्ला केही महिनायता भारतीय कम्पनीहरूले चीन जाने भिसा स्वीकृत गराउन निकै कठिनाइ भोगिरहेको जनाएका छन्।
द इकोनोमिक टाइम्सका अनुसार, पहिले अधिकांश भिसा आवेदन स्वीकृत हुने गरे पनि अहिले धेरै कम्पनीका केवल २० देखि ४० प्रतिशत आवेदन मात्र स्वीकृत भइरहेको छ। यसले विशेषगरी इलेक्ट्रोनिक्स, अटोमोबाइल तथा ठेक्का उत्पादन (कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ) क्षेत्रमा काम गरिरहेका कम्पनीहरूको नियमित सञ्चालन र परियोजना कार्यान्वयनमा समस्या उत्पन्न गरेको छ।
उद्योगीहरूका अनुसार, चीनबाट आवश्यक पुर्जा, मेसिनरी तथा प्राविधिक सहयोग लिनुपर्ने भएकाले भारतीय अधिकारीहरूको चीन भ्रमण अत्यावश्यक हुन्छ। तर भिसा प्रक्रिया लामो हुनु, आवेदन अस्वीकृत हुनु र पुनः आवेदन दिनुपर्ने अवस्थाले उद्योग सञ्चालनमा ढिलाइ भइरहेको छ।
भारतले अहिले पनि विभिन्न उद्योगका लागि आवश्यक कम्पोनेन्ट, पूँजीगत उपकरण तथा प्राविधिक विशेषज्ञताका लागि ठूलो मात्रामा चीनमाथि निर्भर रहँदै आएको छ। यस कारण भिसा कडाइले आपूर्ति शृङ्खला (सप्लाई चेन) र उत्पादन प्रक्रियामा प्रत्यक्ष असर पारेको उद्योग क्षेत्रको भनाइ छ।
यस विषयमा भारतीय कम्पनीहरूले अनौपचारिक रूपमा भारत सरकारसँग चीनसमक्ष कूटनीतिक माध्यमबाट समस्या उठाउन आग्रह गरेका छन्। भारत सरकार पनि यस विषयमा जानकार रहेको बताइएको छ। यद्यपि नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले यस विषयमा हालसम्म सार्वजनिक प्रतिक्रिया दिएको छैन।
सामाजिक सञ्जाल तथा अनलाइन फोरमहरूमा पनि चीन जाने भारतीय व्यवसायीहरूले पछिल्लो समय भिसा अस्वीकृत हुने क्रम बढेको भन्दै गुनासो गरिरहेका छन्। भारत–चीनबीच प्रत्यक्ष हवाई उडान पुनः सञ्चालन भइसकेपछि पनि व्यावसायिक भिसा प्राप्त गर्न कठिनाइ कायम रहेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।