काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार (आज) बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको त्यहाँ खटिएका एक अधिकारीले जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले भने सुरुङभित्रबाट एकजनालाई जीवित उद्धार गरिएको बताएका छन् । त्यहाँ अरू पनि व्यक्ति रहेका जानकारी प्राप्त भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
नेपाली सेना सुरुङभित्र पसेर उद्धार कार्य जारी राखेको उनले जनाएका छन् । “सुरुङभित्रबाट एकजना सञ्जय साहको जीवित उद्धार गरिएको छ । अरू पनि छन् भन्ने जानकारी प्राप्त भएको छ,” उनले फेसबुकमा लेखेका छन्, “अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।” सुरुङविज्ञ न्यौपाने यसअघि त्यहाँ सेनासँगै उद्धार कार्यमा खटिएका थिए ।
६० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ध्वस्त भएको छ । त्यसपछि त्यहाँ ४२ कर्मचारी/कामदार फसेका आयोजनाले जनाएको छ ।