काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई छलफलमा बोलाएको छ ।
निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा छलफल गर्न आयोगले दलहरूलाई बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
सोमबार (भोलि) बिहान साढे ११ बजे छलफलमा बोलाएको निर्वाचन आयोगले जनाएको छ । सातवटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो । उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्कियो ।
केही परिमार्जनको गृहकार्य पनि भएको थियो । तर, संसद् विघटनपछि गृहले पुन: आयोगमा नै फर्काएको थियो । आयोगले मस्यौदामा सुझाव दिन यही वैशाख १५ गते दलहरूलाई पत्राचार पनि गरेको थियो ।