सिमरा– विशेष आर्थिक क्षेत्र ‘सेज’ निर्माण क्षेत्रमा निजी संरचना बन्ने क्रम नरोकिएपछि सेज अतिक्रमणमा परेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा पर्ने ८ सय ३२ विगाहा क्षेत्रफल जमिनमा सरकारले विशेष आर्थिक क्षेत्र निर्माण थाले पनि त्यहाँका स्थानीयले सेजको जग्गामा निजी संरचना बनाउने कार्य सुरु गरेपछि सेज अतिक्रमणमा परेको हो ।
८ सय ३२ विगाहा जमिनलाई कुल ५ वटा ब्लकमा विभाजन गरी सेज निर्माण कार्य भइरहेको छ । जसमध्य जितपुरसिमरा ४ मा १, १४ मा २ र १५ मा २ वटा ब्लक छन् ।
सिमरा–डुमरवाना सडक खण्डको विचमा पर्ने दुधौरा खोला पश्चिमतर्फ रहेको ब्लक ‘ए’ मा सेज निर्माणको काम धमाधम अघि बढिरहेकाले व्यक्तिले निजी संरचना बनाउने समस्या छैन तर दुधौरा खोला पूर्व १४ र १५ नम्बर वडामा अहिले पनि सेजमा निजी संरचना थपिने क्रम बढिरहेकाले सेजको निर्माण र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–१४ मा पर्ने स्याउली चोकमा अहिले स्थानीय केही व्यक्तिले पक्कि घर बनाइरहेका छन् । यस्तै १५ नम्बर वडामा पर्ने भारती चोकमा पनि उस्तै समस्या छ । १५ नम्बर वडाकै भवानीपुर, सुक्लैया क्षेत्रमा पनि स्थानीयले सेजको जग्गामा निजी संरचना बनाइरहेका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिमरा औराहामा रहेको साइट कार्यालयका अनुसार स्थानीयवासीलाई पटक–पटक निजी संरचनाहरू नबनाउन आग्रह गरिएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले पनि स्थानीयलाई सेजको जग्गामा घरटहरा निर्माण नगर्न पटक–पटक आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS