काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा ६ जना केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जिल्ला/नगरबाट तीन जना, वस्तुगतबाट दुई जना र एसोसिएट्सबाट एक जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
मनोनीत हुनेहरूमा जिल्ला/नगरबाट मनिष लाल प्रधान (ललितपुर), नवीन रिजाल (मोरङ), गोकर्ण कार्की (पोखरा) छन् । वस्तुगत तर्फबाट कत्था उत्पादक सङ्घका शिव प्रसाद घिमिरे र महिला उद्यमी महासङ्घबाट दर्शना श्रेष्ठ मनोनीत भएका छन् भने एसोसिएट्स तर्फबाट साहारा जोशी केन्द्रीय सदस्य मनोनीत भएकी छिन् ।
वस्तुगत तर्फबाट सदस्य मनोनीत भएका शिव प्रसाद घिमिरे यसअघि यसै समूहबाट उपाध्यक्षको उम्मेदवार थिए । नरेश लाल श्रेष्ठसँगको प्रतिस्पर्धामा उनी तीन मतले जितबाट टाढा रहेका थिए ।
अध्यक्षले दुई जना महिलासहित सात जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत गर्न सक्ने महासंघको विधान अनुसार उनीहरूलाई मनोनीत गरिएको बताइएको छ । उक्त प्रावधान अनुसार अझै एक जना मनोनीत गर्न बाँकी छ ।

यसैबीच, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि सुरकृष्ण वैद्य, हेमराज ढकाल र रामचन्द्र सांघाईबीच प्रतिस्पर्धा हुने भएको छ ।

कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल, भक्त हमाल र मनिष लाल प्रधानले आकांक्षा देखाए पनि पौडेलले मात्रै उम्मेदवारी घोषणा गरेको बताइएको छ ।